२०८१ श्रावण १२

प्रधानमन्त्री दाहाल आज यूएई जाँदै

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन दाहाल यूएई जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल आज राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीकोे सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । कोप–२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्सको ५२ औँ ‘युनियन डे’ को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल डिसेम्बर २ मा ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा होस्टको रूपमा रहनेछन् । कार्यक्रममा जलवायु परिवर्तनका सम्बन्धमा नेपालले आवाज उठाउनेछ ।
प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् । प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम छ ।