२०८१ श्रावण १२

रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु

काठमाडौं, रुस–युक्रेन युद्धमा रुसी सेनामा कार्यरत पाँचजना नेपाली मारिएको पुष्टी भएको छ ।
रुस–युक्रेन युद्धमा मारिने नेपालीमा कपिलवस्तु बाणगङ्गा–१ का रुपक कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार रोक्का र स्याङ्जाका प्रितम कार्की छन् ।
रुसको मस्कोस्थित् नेपाली दूतावास स्रोतका अनुसार रुपक कार्की र थपलियाको गत असारमा मृत्यु भएको थियो । मोक्तान, रोक्का र प्रितम कार्कीको कात्तिक २९ गते मृत्यु भएको थियो ।
रुसी सेनाले मस्कोस्थित् नेपाली दूतावासलाई मारिएका नेपालीका बारेमा जानकारी गराउँदै शव नेपाल पठाउन सहजीकरणका लागि अनुरोध गरेको छ । रुसी सेनाले गरेको अनुरोधमा मस्कोस्थित् नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै शव नेपालमा रहेका उनीहरूको परिवारसम्म पु¥याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।


दूतावासले असारमा मारिएका दुईजनाको शव व्यवस्थापनका लागि कात्तिक ३ गते र कात्तिकमा मारिएका तीनजनाको शव व्यवस्थापनका लागि मंसिर ८ गते कन्सुलर सेवा विभागलाई पत्र पठाएको थियो ।
नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,” मस्कोस्थित नेपाली दूतावासले कन्सुलर सेवा विभागलाई लेखेको पत्रमा उल्लेख छ ।
शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नु पर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सो को औपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू दूतावासले विभागलाई पठाएको छ ।
सन् २०२२ फरवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसदिनबाट सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा ३७० जना पुरुष र १६ जना महिना गरी ३८६ जना नेपालीले रुस जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ८२ जना नेपालीले रुस जान विभागबाट श्रम स्वीकृति लिएका थिए । सोही वर्ष १५६ जना नेपालीले युक्रेनजानका लागि श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा ३०४ जना नेपालीले रुस जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार साउनमा ५३, भदौमा १६१, असोजमा ४७ र कात्तिकमा ४३ जनाले रुस जान श्रम स्वीकृति लिएका छन् ।