२०८१ श्रावण १२

चैतर्फी विरोधका कारण श्री ५ लेखेको शिलालेख हटाइयो, कलेजको दर्ता खारेजी प्रक्रिया अधि बढाइने

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिकको शिलालेख हटाइएको छ ।
बिर्तामोड –१ मा रहेको इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि कलेजले हटाउन लगाएको हो । सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ ।
कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट झापाकोे इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो ।


इकम कलेजले संविधानको ठाडो उल्र्लघन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनुभयो । पाण्डेले इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताउनुभयो । चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो ।
सालिक अनावरण गर्ने क्रममा शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताए । अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने उनले बताए । सो कलेजले गत शनिबार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गरेका थिए ।
यसअघि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि शिलाखेलमा लेखिएको श्री ५ शब्दप्रति स्पष्टीकरण सोधेका थिए । कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ ।