२०८१ श्रावण १२

हमासले थप १४ र इजरेलले ३९ प्यालेस्टिनी बन्दी छाड्यो, नेपाली विद्यार्थी विपिन जोशीको अवस्था सझै अज्ञात ।

आनन्द गुरुङ, काठमाण्डौ–इजरेल–हमास अस्थायी युद्धविरामको तेस्रो दिन थप १४ जना इजरेली र तीन जना अन्य देशका बन्धकलाई हमासले छाडेको छ भने इजरेलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन् । उनी अमेरिकी र इजरेली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन् ।


यसैबीच हमासले इजरेलसँगको युद्धविरामको समय बढाउन खोजिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि बन्धकहरू घर फर्कन पाऊन् भनेर उक्त युद्धविरामलाई थप लम्ब्याउन चाहेको बताएका छन् ।
हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था समेत अहिलेसम्म अज्ञात छ । यसैबीच हमासले पछिल्लो युद्धमा उत्तरी गाजा ब्रिगेडका प्रमुखसहित आफ्ना चार जना सैन्य कमान्डरहरू मारिएको घोषणा गरेको छ । इजरेलले ती कमाण्डरहरूलाई यस सघर्ष विरामअघि निशानामा पारिएको जनाएको छ ।
यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए। इजरेलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ ।


यसअघि इजरेलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको बिबिसिले जनाएको छ ।
कतार र इजिप्टको मध्यस्थतापछि दुवै पक्षका बन्धहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो ।
दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरु हुने बताए तापनि अमेरिकी राष्ट्रपति जो बाइडनले अस्थायी युद्धविराम लम्बिन सक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन् ।
इजिप्टले समेत दुवै पक्षबाट अस्थायी युद्धविराम ’एक वा दुई दिनले’ लम्बिन सक्ने ’सकारात्मक सङ्केत’ पाएको जनाएको छ।