२०८१ श्रावण १२

नेपाल राष्ट्रबैंकद्धारा निक्षेपका लागि दरखास्त आह्वान

काठमाडौं, नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकले सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।
जारी सूचनामा कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ४२ करोड ९८ लाख रुपैयाँ ख वर्गको विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात मंगलबार राती १२ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । निक्षेप भने २०८० पुस १ गते प्रदान गरिनेछ । एक वर्षका लागि प्रदान गरिने निक्षेप २०८१ मंसिर ३० गते परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्नेछ ।