२०८१ श्रावण १२

राफ्टिङ्ग एन्ड क्यानोइङ संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा राजीव श्रेष्ठ निर्वाचित

काठमाडौं, राफ्टिङ्ग एन्ड क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि श्रेष्ठ करिब ३ वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए ।
बक्सिङ संघमा श्रेष्ठ सदस्य, सह–महासचिव र महासचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव हुन् ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहेका छन् ।
सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाएक छन् । सदस्यमा रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको थियो ।