२०८१ श्रावण १२

पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन शुरु

नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा आजबाट सुरु भएको छ ।
‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि कार्यक्रमको उद्घाटन गरे ।
गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने मुख्यमन्त्री पाण्डेले बताए । यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उनले बताए ।
हालचालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताए ।
नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले योेगदान गर्ने बताए । पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै उनले त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको बताए ।
दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।
‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिताअन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ ।
सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् ।
यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला तथा पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् । यसैगरी, उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चौथोदेखि सातौँसम्मको रु १८ हजार र दशौँसम्मका धावकले रु नौ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

लेकसाइडको बाराहीघाटबाट सुरु प्रतियोगिता बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।
यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउने छन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।