२०८१ श्रावण १२

गण्डकी प्रदेशको बजेट खर्च निराशाजनक, चार महिनामा मात्र ११ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष (२०८०÷०८१) को पहिलो चार महिनामा जम्मा ११ प्रतिशत बजेट खर्च गरेको छ । साउनदेखि कात्तिकसaम्म ११ दशमलव ०३ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालुतर्फ १४ दशमलव १८ प्रतिशत र पुँजीगततर्फ ९ दशमलव ३१ प्रतिशत बजेट खर्च भएको हो । ३३ अर्ब ४२ करोडको बजेट ल्याएको सरकारले हालसम्म ३ अर्ब ६८ करोडमात्रै खर्च गरेको छ ।
पहिलो चौमासिकमा बजेट खर्चको कार्यविधि र मापदण्ड निर्माणमा व्यस्त भएकाले खर्च कम देखिएको अर्थमन्त्री जीतप्रकाश आले बताउँछन् । उनले केही योजनामा काम भए पनि बिल भुक्तानी नभएका कारण खर्च कम देखिएको बताए ।
सरकारले प्रस्तुत गरेको ३३ अर्ब ४२ करोडको बजेटमध्ये चालुतर्फ १२ अर्ब ७३ करोड र पुँजीगततर्फ २० अर्ब १९ करोड छ । ५० करोड वित्तीय व्यवस्थामा विनियोजन भएको छ । १ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य छ । तर हालसम्म ऋण उठाउने कानुन बनेको छैन ।
‘ऋण उठाउने कानुन तर्जुमाको चरणमा छ । कुन मोडालिटीबाट ऋण उठाउने भन्ने हामीसँग मेकानिज्म छैन,’ सचिव बलराम रिज्यालले भने, ‘बजेटरी सिस्टममा विशेष आयोजना आयो भने ऋण उठाएर भए पनि लगानी गर्न सकिन्छ भन्ने लक्ष्य राखेको हुन्छ । हामीकहाँ चाहिँ बजेटको आकार बढाउने हिसावले यो राखिएको जस्तो भैरहेको छ ।
उनले आन्तरिक ऋण लिन पनि संघ सरकारको स्वीकृति आवश्यक पर्ने र त्यसको लागि कानुन बनाउन अत्यावश्यक रहेको बताए । ‘विनियोजन ऐनले व्यवस्था गरेपछि प्रक्रियामा जानैपर्छ । कुनै आयोजना आयो र राज्यले लगानी गर्नुपर्ने अवस्था आएमा ऋण लिनुको विकल्प नभएकाृ पनि बताए ।
आयोजना छनोटमा सरकारले विशेष जोड दिएको र छलफलको चरणमा रहेको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा बताउँछन् ।
बजेट खर्चजस्तै यो अवधिमा आन्तरिक स्रोतबाट आम्दानी पनि उल्लेख्य छैन । ४ महिनामा जम्मा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । नेपाल सरकारले वित्तीय हस्तान्तरण गरेको २ अर्ब ७७ करोड, राजस्व बाँडफाँटको २ अर्ब २३ करोड र २ अर्ब २२ करोड नगद मौज्दात सरकारले बजेटका रुपमा परिचालन गरिरहेको छ । अहिलेसम्म अनुदान र राजस्व बाँडफाँट समेत गरेर ८ अर्ब ३६ करोड प्रदेशको सञ्चित खातामा जम्मा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ ।