२०८१ श्रावण १२

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैनः जिप्रका, काठमाण्डौं

काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
बिहीबार (हिजो) राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज कसैलाई पनि कार्यक्रम गर्ने अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पारेको छ ।
महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको कार्यालयले जनाएको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको जनाएको छ । यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन भनेको छ ।
उता, दुर्गा प्रसाईले शुक्रबार बिहानैबाट आफुलाई धरमै एरेष्ट गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेको छ ।