२०८१ श्रावण १२

नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करण आजदेखि सुरु, काठमाडौं रेजर्स र स्पोर्टिङ ईलाम भिड्दै

 

काठमाडौं, नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् ।
इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।
उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन् ।
साविक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । ‘हामी काठमाडौंको घरेलु टोली हौं । त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ । ‘
उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साविक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् । यसपटक एनएसएलमा पाँच विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ ।