२०८१ श्रावण १२

नेपाल सरकारद्धारा विपिन जोशीको रिहाइका लागि पहल शुरु

 

आनन्द गुरुङ,काठमाडौँ–इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपाल सरकारले विपिन जोशीको रिहाइ पहल थालेको छ ।
इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित् इजरायली राजदूत हनान गोदेरलाई भेटेर पहिलो चरणमै नेपाली नागरिक विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरे । परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा चार दिने युद्ध विरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका हुन् । जवाफमा राजदूत गोदेरले इजरायल सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।
गत अक्टोबर ७ तारिखमा हमासले आक्रमण गरेको थियो । सोही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । जोशीलाई हमास समूहले अपहरण गरेर गाजातर्फ लगेको थियो । हालसम्मको उनको अवस्था सार्वजनिक हुन सकेको छैन । तर, इजरायली सेनाले भने गाजास्थित एक अस्पतालमा उनी सुरक्षित रहेको दाबी गरेको छ । इजरायलले चार दिनका लागि युद्ध रोकेको छ । मानवीय सहायताका लागि भन्दै युद्ध रोकेको इजरायलले जनाएको छ । सोही क्रममा पहिलो चरणमा ५० जना महिला र बालबालिकालाई रिहा गर्ने हमासले जनाएको हो ।