२०८१ श्रावण १२

अमेरिकाद्धारा भारतलाई चेतावनी

काठमाडौं, अमेरिकी भूमिमा खालिस्तान समर्थक शिख पृथकतावादी नेतालाई मार्ने भारतको योजना असफल भएको बेलायती अखबार फाइनान्सियल टाइम्सले दाबी गरेको छ ।
शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूलाई मार्ने भारतको योजना अमेरिकी अधिकारीले असफल बनाएको उक्त अखबारले उल्लेख गरेको छ । पन्नू पेशाले एक वकिल हुन् । उनी अमेरिकी तथा क्यानडाका नागरिक हुन् ।


शिख पृथकतावादी नेतालाई अमेरिकामा मार्ने योजना भारतले बनाएको फाइनान्सियल टाइम्सले जनाएको छ । अमेरिकाले उक्त षड्यन्त्रको पछाडि भारतको हात रहेको आशंका गरेको छ । यसैकारण अमेरिकाले उक्त घटनालाई लिएर भारतलाई चेतावनी समेत दिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ ।
शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर क्यानडा र भारतबीच कूटनीतिक संकट उत्पन्न भएको दुई महिनापछि यो रहस्य बाहिर आएको हो । क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
निज्जरको हत्या गत जुनमा क्यानडामा भएको थियो । क्यानडाले लगाएको आरोपलाई भारतले खण्डन गर्दै आएको छ । निज्जरको हत्यापछि क्यानडा र भारतको सम्बन्ध बिग्रदै गएको छ । उनीहरु एकअर्काको देशका कूटनीतिज्ञलाई निकाल्नेसम्मको अवस्थामा पुगेका छन् ।


शिख नेताको हत्यालाई लिएर क्यानडा र भारतबीच तनाव बढीरहेका बेला फाइनान्सियल टाइम्सले भारतले अमेरिकामा पनि अर्को एक शिख नेतालाई मार्ने प्रयास गरेको रहस्य सार्वजनिक गरेको छ । फाइनान्सियल टाइम्सका अनुसार अमेरिकाले भारतलाई कूतनीतिक चेतावनी दिनुका साथै एक शंकास्पद व्यक्तिमाथि मुद्दा चलाउने प्रक्रिया सुरु गरेको छ । मुद्दा न्युयोर्कको जिल्ला अदालतमा दर्ता गरिएको छ ।
अमेरिकाले भने अहिलेसम्म सार्वजनिक र औपचारिक रुपमा घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।