२०८१ श्रावण १२

अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कनुः ट्राफिक प्रहरी

काठमाण्डौ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै आज सवारी साधन लिएर निस्किन आग्रह गरेको छ ।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरूमा आज प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो ।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरी यस्तो आग्रह गरेको हो । काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
त्यस्तै सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।