२०८१ श्रावण १२

कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा, विदेशी र स्वदेशी कृषिवैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने ।

स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन केहीबेरमा चितवनमा शुरु हुंदैछ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक नेपालमा सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहनेछ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने कार्यक्रमका संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेल जानकारी दिए ।
यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य संगठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने कट्टेलले बताए । उनका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।
कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिए । ‘विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ’, ‘दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने संयोजक कट्टेलले जानकारी दिए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलको भनाइ छ ।