२०८१ श्रावण १२

नेपालको ताल–तलैयामा देखिन थाले पर्यटक चरा

सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज लगायत नेपालका पोखरी, ताल र सिमसार क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ ।
जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा नेपाल आउन थालेका हुन् । नेपालका नदी र ताल–तलैयामा विभिन्न प्रजातिका पाहुना चरा देखिन थालेका वर्ड कर्जभेसन सोसाइटी नेपालले जनाएको छ । नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा चितवनको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए ।

‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै उनले अहिले यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको बताए । यस्ता चरा ‘अक्टोबर’सम्म आउने उनले जानकारी दिए । नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।
साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेको चराविद् हेमसागर बरालले बताए् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेको उनले बताए । उनले भने, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”


नेपालमा एक सय ५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गरेको जनाउँदै चराविद सागरले अहिलेसम्म एक सय प्रजातिका चरा आइसकेको बताए । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको उनले बताए ।
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल आठ सय ९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा छ सय ५० प्रजातिका चरा रहेका छन् ।