२०८१ श्रावण १२

मंसिर ७ गते काठमाडौंमा प्रहरी र सशस्त्र फिल्डमा, ब्याकअपमा सेना

मंसिर ७ गते काठमाडौंमा चार वटै सुरक्षा निकाय परिचालन गरिने भएको छ ।
नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाण्डौको एकै स्थानमा कार्यक्रम गर्दैछन् । जिल्ला सुरक्षा समितिको छलफलले मंसिर ७ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ । साथै राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन हुनेछ । प्रहरी अग्रभागमा बसेर काम गर्नेछ । सशस्त्र प्रहरी पनि फिल्डमा खटिन्छ । राष्ट्रिय अनुसन्धानको आफ्नै तरिकाले काम गर्नेछ । नेपाली सेनालाई ब्याकअप फोर्सको रूपमा तयारी अवस्थामा राख्ने कुरा भएको छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले बताए ।


युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो । उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ । प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
‘उपत्यकाका तीन वटा जिल्ला सुरक्षा समितिले योजनाहरू बनाएर सूचना संयन्त्र बनाइएको छ । सुरक्षा निकायबीचमा सूचना आदान–प्रदान गर्ने छ त्यसका लागि ’भ्याली जोइन्ट अपरेशन कमान्ड सेन्टर’ तयार गरिएको’ एआइजी थापाले बताए ।
पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ । झडप हुन सक्ने आकलन गर्दै प्रशासनले दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।