२०८१ श्रावण १२

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास ।

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्धारा छठका अवसरमा जारी शुभकमना सन्देशमा नेपाली समाजमा र विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।
यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको सन्देशमा भनिएको छ ।
यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नदी, पोखरी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।