२०८१ श्रावण १२

हुम्डे विमानस्थलमा नियमित उडान निराशाजनक

Humde Airport

हुम्डे, २७ मंसिर/ गत भाद्र २७ गते सफल परिक्षण उडान गरिएको हिमाली जिल्ला मनाङको एक मात्र विमानस्थल हुम्डे विमानस्थलमा नियमित उडान गर्ने भनिएपनि नियमित उडान निराशाजनक भएको छ । यस वर्षको पर्यटन सिजन सकिदै गर्दा हुम्डे विमानस्थलमा उडान निरुत्साहित बन्न पुगेको हो ।

लामो समयदेखि उडान हुन नसकेको उक्त विमानस्थलमा गत भाद्र २७ गते पोखराबाट उडेको समिट एयरको विमान अवतरण गरिएको थियो । उक्त दिन विहान ९ बजे मनाङको हुम्डे विमानस्थलमा अवतरण गरिएको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ सहित गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङलगायत गण्डकी प्रदेशको प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेशका प्रहरी प्रमूख विनोद शर्मा घिमिरेका साथै गण्डकी प्रदेशका अन्य केही विशिष्ठ व्यक्तिहरुले समेत उक्त विमानको परीक्षण उडानमा यात्रा गरेका थिए । सो उडानमा गण्डकी प्रदेश सभामा मनाङ निर्वाचन क्षेत्र ‘ख’ का सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई समावेश गरिएको थिएन ।

उडानको हुम्डे विमानस्थलमा अवतरण गरिएपछि आयोनजना गरिएको समारोहमा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अश्विन १० गतेपछि निरन्तर रुपमा हुम्डे विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त उडान सफल भएपछि निकै लामो समयपछि विमान अवतरण गरिएपछि मनाङबासीहरु निकै उत्साहित भएका थिए । तर हालसम्म पनि उक्त विमानस्थलमा हवाई सेवा सूचारु भएइको छैन ।