आज नेपाली सेनाको २६३ औँ वार्षिकोत्सव ।
काठमाण्डौँ, नेपाली सेनाले आज २६३ औँ वार्षिकोत्सव तथा स्थापनाका मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।
नेपाली सेनाको मुख्यालय,जङ्गीअङ्डाले सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरेको । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
जङ्गीअङ्डा मातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
वर्तमान सेनाको साङ्ठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्