२०८२ फाल्गुन ७

मनाङमा एमाले र राप्रपाका उमेदवारले नाम फिर्ता लिन निवेदन दर्ता ।

चामे, मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।
एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उमेदवार दर्ता गराएका थिए । दुवैजना उमेदवारी फिर्ताको निवेदन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ । मनाङमा नेपाली कॉग्रेस, नेकपा एमाले, नेपाल कम्यूनिष्ट पार्टी, राप्रपा र मंगोल नेशनल अर्गनाइजेशन गरी पाँचजनाको उमेदवारी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमाले र राप्रपाबाट उमेदवारी फिर्ताको निवेदन आएको जानकारी दिएको छ । यसको निर्णय भने १ बजेपछि मात्रै हुनेछ ।
नेपाली क‘ांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ उमेदवार बनेका छन् । निर्वाचनको समयमा झडप हुने, अप्रिय घटना हुनेभन्दै मनाङमा लामाहरूले अग्रसरता देखाएका थिए । बिहीबार मुख्य दल नेपाली काँग्रेस र एमालेका उमेदवार बोलाएर लामा गुरुहरूले छलफल गरेका थिए ।
दुवै दलका उमेदवारको अडानपछि अन्ततः चिठ्ठामार्फत को उमेदवार रहने भन्ने टुंगो लगाइएको थियो । जसमा काँग्रेसका टेकबहादुर गुरुङले जितेका थिए । उनले प्रतिनिधिसभामा भाग लिँदैगर्दा आउने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा भने काँग्रेसले एमालेलाई सघाउने सहमति बनेको छ ।