नेपाली काँग्रेसका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध ।
बिराटनगर, कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित भएका हुन । निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुने छ ।
यसैबिच, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस–एमाले गठबन्धन तथा नेकपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । काँग्रेस–एमाले गठबन्धनबाट दलिततर्फ नेकपा (एमाले) का सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराएका छन् ।
रोशनी मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई, सोम पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल छन् । काँग्रेस उम्मेदवार सुनिल थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई छन् ।
यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् भने खेमराज सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमनारायण माझी छन् ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धन गरी जाने पक्का छ । यसरी गठबन्धन गरी आगामी निर्वाचनमा होमिए अन्य नयाँ पार्टीहरुका लागि फलामको चिउरा सावित हुने छ ।


प्रतिक्रिया दिनुहोस्