२०८२ मंसिर २७

१४९ जनाको पासपोर्टमा एउटै मोबाइल नम्बर !

काठमाण्डौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा नाम जोडिएका ७ जना र दुई कम्पनी विरुद्ध बिहीबार विशेष अदालत काठमाण्डौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दायर आरोपपत्रमा अख्तियारले थप व्यक्ति र संस्थाहरु माथि पनि अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । अख्तियारले “काठमाडौंको सामाखुसीमा संचालित नवदुर्गा गेष्ट हाउस बर्दियाकी होटल संचालिका लिला तिमिल्सेना, ९८४४८२३०४१ को मोबाइल नम्बर राखी १४९ जनासम्मको राहदानी बनाएको अनुसन्धानबाट खुल्न आएको देखिएको छ,” अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा भनिएको छ । एउटै मोबाइल नम्बर राखी त्यति धेरै संख्यामा पासपोर्ट जारी गर्ने कार्यमा संलग्न राष्ट्रसेवकहरुको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसमा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागका कर्मचारी समेत तानिन सक्नेछन् ।
‘प्रचलित कानूनी व्यवस्था अनुरुप वारदातको प्रकृति, वारदातको मिति, विषयवस्तु र संलग्न व्यक्तिहरु भिन्नभिन्न भएमा भिन्नाभिन्नै आरोपदावी ल्याउन आयोगको ध्यानाकर्षण गराइएको छ । प्रचलित कानूनी व्यवस्था अनुकूल नरहेका आरोपदावी दरपीठ गर्नु भनी यस अदालतका रजिष्ट्रारका नाउँमा निर्देशनात्मक आदेश जारी गरिदिएको छ’ भनी फैसला भएको देखिएको हुँदा सोही आदेशको आधारमा देहाय बमोजिमको छुट्टाछुट्टै विषय, वारदात, समय तथा संलग्न प्रतिवादीहरु भएको सम्वन्धमा छुट्टै अनुसन्धान भई रहेको छ’ अख्तियारले भनेको छ ।
आरोपपत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआर्ईए) अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रूपमा तिर्थराज भट्टराई २०८१ असोज २३ देखि २०८२ जेठ ७ गतेसम्म कार्यरत रहेको जनाइएको छ । उक्त अवधिमा एक लाख ५३ हजार ९७४ जना नेपाली भिजिट भिसामा विभिन्न देशहरुमा गएको बेहोरा टीआईए अध्यागमन कार्यालयले अख्तियारलार्य २०८२ भदौ ४ गते पत्र मार्फत उपलब्ध गरेको थियो ।
त्यसैगरी, विभिन्न ट्राभल एजेन्सी मार्फत भिजिट भिसामा विदेश गएका यात्रीहरूको टिकट एउटै यात्रुको नाममा काटिएको समेत अख्तियारले भेटाएको छ । यस्ता व्यक्तिलाई पनि अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिएको छ ।
राष्ट्रसेवकको बदनियतपूर्वक संलग्नतामा सेटिङ्ग गरी भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सीहरुको सम्बन्धमा पनि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।