२०८२ कार्तिक १

मन्त्री घिसिङ झापाका बाढी प्रभावित क्षेत्रमा, नेपाली सेनाद्वारा राहत वितरणमा सहजीकरण ।

झापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् ।
मन्त्री घिसिङले झापा गाउँपालिकास्थित् हुलाकी सडकखण्ड अन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए । सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए ।
बाढी प्रभावितहरुलाई विभिन्न संध–संस्थाले उपलब्ध गराएको राहत सामाग्रीलाई झापाको चारआलीमा रहेको श्री अरिरमण दल गुल्मका प्रमुख सेनानी सरोज थापाको कमाण्डमा खटिएको सेनाको टोलीले चामल, दाल, तेल, नून, कम्बल र पानी लगायतका अतिआवश्यक राहत सामाग्री वितराण गर्दै आएको छ । त्यसैगरी, राहत वितरणसंगै नेपाली सेनाले बाढी प्रभावितहरुलाई स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ ।


विगत चार दिनदेखि हालसम्म झापा गाउँपालिकाका २ हजार १ सय १३ परिवारलाई राहत वितरण गरिसकेको पनि मेजर दिपेन्द्र बहादुर बुढाले बताए ।
बाढीबाट झापा गाउँपालिकाका ४ हजार भन्दा बढी स्थानीय प्रभावित भएका छन् भने हुलाकी मार्ग अन्तरर्गत पर्ने कनकाई र सानो कनकाई माई नदीमा रहेको पुल समेत भासिएको छ ।