राजधानीबाट दसैँ मनाउन गाउँ जानेको चहलपहल बढ्यो ।
काठमाण्डौँ, राजधानी काठमाण्डौँबाट दसैँ मनाउन गाउँ जानेको चहलपहल सुरु भएको छ । नयाँ बसपार्कलगायत बस छुट्ने स्थानमा घर जानेहरूको संख्या बढ्दै गएको छ ।
काम र अध्ययनको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउन घर फर्किन थालेका हुन् । तर, बाहिरीने सडकको अवस्था भने अत्यन्त खराब छ । नारायणगढ–मुग्लीन सडक पहिरोका कारण विगत ७२ घण्टाबाट बन्द छ । हजारौं यात्रु बिच बाटै अलपत्र परेका छन । उता, विपी राजमार्गको अवस्था पनि नाजुक छ । त्यसैगरी नारायणगढ– बुटवल सडक खण्ड अन्र्तगत पर्ने दाउन्नेमा घण्टौसम्म सवारी साधन अडकिने गर्दछ । कहिले बन्द हुने भन्ने टुंगो छैन । देशभरको सडकको अवस्थालाई मध्यनजर गर्दै यातयात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।
टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किनेहरूको बसपार्कमा चहलपहल बढेको हो । विगत वर्षहरूमा यातयात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दसैँको महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । यसवर्ष दसैँको टीका असोजको १६ गते रहेको छ ।


प्रतिक्रिया दिनुहोस्