२०८२ भाद्र ३१

आज ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाण्डौँ, आज ६१ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदैछ ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताए ।
सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।”
सन्देशमा बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु” भनिएको छ ।
बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।