जेनजीको हत्याबारे सरकारको चौतर्फी आलोचना, पारदर्शी रुपमा छानबिन गर्न राष्ट्रसंघीय मानव अधिकारको माग ।

काठमाण्डौँ, देशमा भ्रष्टचारको अन्त्य, सुशासन र स्थाई सरकारको माग सहित प्रदर्शनमा उत्रीएका जेनजीको हत्याबारे सरकारको चौतफी आलोचना भइरहेको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नेपालमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीको राज्यले गरेको हत्याबारे छिटो र पारदर्शी छानबिनको माग गरेको छ । उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शाम्दासानीले नेपालको जेनजी आन्दोलनमाथि प्रहरी प्रशासनले गरेको हिंसामाथि धारणा राख्दै यस्तो बताएकी हुन् ।
‘हामी नेपालमा आज प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइते भएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ,’ प्रवक्ता शाम्दासानीले भनिन् ।
भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक वा अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोपहरू उच्च आयुक्तको कार्यालयले प्राप्त गरेको पनि उनले बताइन् ।
त्यसैगरी, अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । शान्तिपूर्णसभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति सचेत रहन पनि अपिल गरेका छन् ।
जेन्जी पुस्ताले सोमबार गरेको आन्दोलन र हिंसात्मक घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह समेत गरेको छ ।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
“हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा सोमबार देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ,” विज्ञप्तिमा उल्लेख छ । शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा उनीहरूले आवाज उठाएका छन् ।
“हाम्रा सरकारहरूले शान्तिपूर्णसभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्