२०८२ भाद्र २८

आजदेखि सोह्र श्राद्ध शुरु ।

काठमाण्डौँ, आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ ।
यस अवधिमा दिवाङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते आज (सोमबार) देखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।
शास्त्रीय मान्यता अनुसार, दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।
कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात मातृ नवमीलाई उत्तम मानिन्छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।