नर्सले ज्ञान र सिप अपडेट नगरे लाइसेन्स नवीकरण नहुने : नेपाल नर्सिङ परिषद्

काठमाण्डौँ, नेपाल नर्सिङ परिषद्ले निरन्तर व्यावसायिक विकास (सीपीडी) सम्बन्धी नयाँ व्यवस्था लागु गरेको छ ।
आगामी १ माघदेखि लागु हुनेगरी नर्स र मिडवाइफलाई ज्ञान, सिपका साथै पेसागत विषयमा अभिवृद्दि गर्न सीपीडी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घण्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको छ । परिषद्को अध्यक्ष सरला केसीका अनुसार अबदेखि नर्सहरुले लाइसेन्स नवीकरण गर्न अनिवार्य रूपमा निरन्तर व्यावसायिक विकास (सिपीडी)क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्नेछ ।
अहिलेसम्म नर्सिङ लाइसेन्स ६÷६ वर्षमा नवीकरण गर्नुपर्ने भए पनि, निश्चित शुल्क बुझाएर स्वचालित रूपमा नवीकरण हुँदै आएको थियो । तर अब भने नवीकरणका लागि आवश्यक ज्ञान र सीप अद्यावधिक गर्नुपर्ने छ ।
नेपालमा नर्सिङ सेवा प्रवाह गरिरहेका सम्पूर्ण नर्सको ज्ञान र सिपलाई अझ परिष्कृत गर्ने, नर्स र उपचाररत बिरामीको बीच उत्पन्न हुने असमझदारीलाई न्यूनीकरण गर्ने, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निरन्तर पेशागत उन्नयनका लागि सो कार्यक्रम ल्याइएको परिषद्ले जनाएको छ ।
नर्सले ६ वर्षभित्रमा न्यूनतम ६० देखि १२० घण्टाको तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । काम गरिरहेको स्वास्थ्य संस्था वा शिक्षण संस्थाले नै तालिम अनिवार्य रूपमा दिनुपर्नेछ । अब नर्सहरूले हरेक वर्ष कम्तीमा १० क्रेडिट प्वाइन्ट र ६ वर्षमा ६० क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्ने व्यवस्था नयॉ नियमले ब्यवस्था गरेको छ ।
नर्सले ६ वर्षभित्रमा न्यूनतम ६० देखि १२० घण्टाको तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । काम गरिरहेको स्वास्थ्य संस्था वा शिक्षण संस्थाले नै तालिम अनिवार्य रूपमा दिनुपर्छ ।
संवाद सिप, बेसिक लाइफ सपोर्ट, संक्रमण रोकथाम तथा बचाउ, मेडिकल नैतिकता, ज्ञानको अभिवृद्धि लगायत विषयमा तालिम लिनुपर्ने छ । यसले नर्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अब्बल सावित गर्ने परिषद्ले ठानेको छ ।
यस क्रेडिट प्वाइन्ट विभिन्न प्रशिक्षण, वर्कशप, सेमिनार, रिसर्च तथा अस्पतालले सञ्चालन गर्ने निरन्तर नर्सिङ शिक्षा कार्यक्रममा सहभागी भएर प्राप्त गर्न सकिने परिषद्ले जनाएको छ । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यशाला, गोष्ठी, सभा, सम्मेलन पनि मान्यता दिइने छ ।
नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार हालसम्म नेपालमा ८६ हजार १५७ जना नर्स, ३७ हजार ७६४ एएनएम, १३३ मिडवाइफी, १ हजार ८७० विशेषज्ञ र ८५६ जना विदेशी नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् । यसमध्ये ३६ हजार ३३४ जना नर्स र १५ हजार ३०१ जना एएनएमले मात्र लाइसेन्स नवीकरण गरेका छन् ।
नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २० हजारले विदेश जानका लागि भेरिफिकेसन लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्