मनाङमा घुम्ती राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन ।

मनाङ, जिल्ला प्रशासन कार्यालय मनाङले राष्ट्रिय पञ्जीकरण विभागको समन्वयमा मनाङ जिल्लाका चारवटै पालिकाको सबै वडाहरुमा राष्ट्रिय परिचयपत्र बनाउन घुम्ती शिविर सञ्चालन गरेको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्लाका अशक्त तथा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले घुम्ती शिविर सञ्चालन गरेको हो ।
जिल्ला सदरमुकाम चामेबाट गरिब २ घण्टाको दूरीमा रहेको ङिस्याङमा एक दिने घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । शिविरबाट ६५ जनाभन्दा बढीलाई घरछेउमै पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गरिएको उनले बताए ।
वडाका सबै अशक्त ज्येष्ठ नागरिकलाई अग्रिम जानकारी दिएर परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि एक ‘सेट’ उपकरण र एक जना प्राविधिक कर्मचारी मात्र रहेकाले सार्वजनिक बिदाको दिन पनि घुम्ती शिविर सञ्चालन गरिएको प्रजिअ पौड्यालले बताए । जनताको घरदैलोमै पुगेर यो सेवा निरन्तर सञ्चालन गरिने प्रजिअ पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्