मनाङका प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा निर्वाचनलाई विशेष ध्यान दिन निर्देशन ।

मनाङ, मनाङ जिल्लाका नविनियुक्त प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन् ।
सदरमुकाम चामे स्थित् जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टर निरीक्षणका क्रममा पौडेलले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यालाय निरीक्षणका क्रममा प्रजिअ पौडेलले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर लाग्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले आसन्न मनाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) उपनिर्वाचनका लागि सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, उनले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागूपदार्थ न्यूनीकरण, आइसिटीको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए ।
सो अवसरमा जिल्ला अधिकारी पौडेलले सशस्त्र प्रहरीको कार्य अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको मूल्याङ्कन गर्दै आसन्न उपनिर्वाचन सुरक्षामा प्रभावकारी भूमिका रहने विश्वास व्यक्त समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्