प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किन्दै ।
काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर स्वदेश फर्कीन्दै छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली यही भदौ १४ गते चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन समेत गरे । प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका थिए ।
ओलीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली काँग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्