२०८२ फाल्गुन १४

मनाङ जिल्ला प्रदेशसभा–२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता असोज २१ गते ।

चामे, आगामी कात्तिक १७ गते हुने मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निधारण गरेको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोबिन्द अर्यालले बताए ।
उक्त सूचीविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । उजुरी र मनोनयनपत्रको जाँचबुझ तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न गरिनेछ । त्यसपछि असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोबिन्द अर्यालले बताए ।
निर्वाचन आयोगले मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने जनाएको छ । साथै, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।