२०८२ भाद्र २८

सामाजिक सञ्जाल सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने ।

काठमाण्डौँ, नेपालभित्र सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ । यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह गरेको छ ।
यसअघि अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाल सरकारलाई सामाजिक सञ्जाल सञ्चालनपूर्व सूचीकरण गर्न लगाउने आदेश दिएको थियो। सो आदेशको पालना स्वरूप मन्त्रिपरिषद्ले भदौ ९ गते निर्णय गरी सूचना सार्वजनिक गरेको हो ।
सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी वा व्यक्तिले नेपाल सरकारको ’सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम निवेदन दिनुपर्नेछ । यसका लागि अनुसूची १ अनुसारको ढाँचा प्रयोग गरी आवश्यक कागजात संलग्न गर्नुपर्ने छ ।
त्यसैगरी, सूचीकरणका क्रममा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
निर्देशनअनुसार तोकिएको समयसीमाभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइने र सूचीकरण गरेपछि पुनः सक्रिय गराइने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइएको मन्त्रालयले जनाएको छ ।