२०८२ भाद्र २८

आज तीज पर्व मनाइँदै ।

काठमाण्डौँ, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन विशेषत हिन्दु महिलाहरुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन विवाहित महिलाहरुले निराहार व्रत बसेर श्रीमानको सुस्वास्थ्य, दिर्घायुका साथै सफलताको कामना गरी विधिपूर्वक शिवपार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । त्यसैगरी अविवाहित नारीहरु सर्वगुण सम्पन्न पति पाउ भन्ने विश्वासका साथ आज बिहानैदेखि पशुपतिनाथ लगायत शिवमन्दिर तथा शिवालयहरुमा घुइँचो लागेको छ ।
अघिल्लो दिन व्रतालुहरुले मीठा–मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।