२०८२ माघ ६

आज राष्ट्रिय फरेन्सिक सम्मेलन हुँदै, सम्मेलनमा भारत र श्रीलङ्काका विज्ञको पनि सहभागिता रहने ।

काठमाण्डौँ, नेपाली फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आज र भोली (आइतबार र सोमबार) काठमाण्डौँमा राष्ट्रिय सम्मेलन आयोजना गरेकोे छ ।
सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा. सृजना कुँवरले बताइन ।
दुई दिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलङ्काका विज्ञको पनि सहभागिता रहने छ । सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्ने छन् भने विशेष अतिथि नेपाल प्रहरीका आइजिपी दीपक थापा रहने छन् ।
कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुति हुने छन् । सहभागी विदेशी विज्ञले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा. कुँवरले बताइन ।
दोस्रो दिन भोली अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्ने छ । यसमा बेवारिसे र बेपत्ता व्यक्तिको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइने छ ।
करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ ।