२०८२ माघ ६

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन ।

काठमाण्डौँ, ध्रुव बहादुर प्रधानको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ तदर्थ समितिले विज्ञप्ती जारी गरेको हो ।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुब बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको प्रवक्ता समिम मियाँ अन्सारीले जानकारी दिए । समितिले काम सुरु गर्ने पनि अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यकममा ओलम्पिक कमिटिको तदर्थ समिति गठन गर्ने बताएका थिए ।
अदालतको आदेश विपरीत अवैध रुपमा कथित साधारण सभाबाट निर्वाचन गरेर नेपाल ओलम्पिक कमिटीले खेल क्षेत्रमा अवैध कब्जा जमाएको भन्दै मन्त्री चौधरीले प्रधानमन्त्रीबाट पनि ओलम्पिक कमिटीको विवाद समाधानका लागि निर्देशन प्राप्त भएको बताएका थिए ।
नवगठित तदर्थ समितिले भावी योजना र कार्यक्रम बारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
केही समयअघि ओलम्पिक कमिटीसँग असन्तुष्ट भएका २२ खेल संघको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री चौधरीले प्रधानमन्त्री ओलीलाई भेटेर ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
खेलकुद मन्त्री र २२ खेलसँगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले नयाँ तदर्थ समिति गठन गर्न निर्देशन दिएको खेलकुद मन्त्री चौधरीले बताएका थिए ।