जिप्रका मनाङद्वारा स्थानिय यातायात भाडा कायम, चामेदेखि खाङसारसम्मको भाडा घट्यो ।

मनाङ, जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो । बैठकले निधारण गरेको नयॉ भाडादर १ भदौदेखि लागू हुनेछ ।
भदौदेखि मनाङमा पर्यटक सिजन सुरु हुने भएकाले भाडादर व्यवस्थित गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । सदरमुकाम चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास गर्न जाने गर्दछ ।
शुक्रबार स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकायलगायत सरोकारवाला सहितको बैठकले नयाँ भाडादर तय गरेको हो । पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् । बैठकमा सार्वजनिक यातायात आचारसंहिता २०६७ कार्यान्वायन गर्ने विषयमा पनि छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालयकोे पहलमा यसअघि लमजुङको बेसीसहरदेखि चामेसम्मको सार्वजनिक यातायातको भाडा पनि कायम गरिएको घटाइएको थियो । साथै, बेसीसहरदेखि चामेसम्म सार्वजनिक बस पनि हालै सञ्चालनमा ल्याएपछि मनाङका स्थानीय तथा पर्यटकलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्