२०८२ फाल्गुन १२

असोजदेखि सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाण्डौँ, सरकारले आगामी असोजदेखि सबै प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानलाई अनिवार्य गर्ने भएका छन् ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेश सरकारका यातायात मन्त्रीसहित मंगलबार बसेको बैठकले इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको हो ।
सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ साल असोज एक गतेदेखि लागु हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाले बताए ।
‘निर्णय कार्यान्वयनका लागि प्राविधिक सहयोग यातायात व्यवस्था विभागले उपलब्ध गराउने निर्णण भएको छ । यसका लागि गृह मन्त्रालयसँग समन्वय र ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकले निर्णय गरेको छ ।
प्रदेश सरकारले असोज लाग्नु अघिसम्म आन्तरिक तयारी गर्नेछन् । यसअघि संघीय सरकारले २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको थियो ।
नेपालमा २०७२ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडानको विषय प्रक्रियामा गएको हो ।
एकरुपता कायम गर्ने, तथ्यांकहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रकृयालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फस्र्यौटलाई प्रभावकारी बनाउने, राइड शेयरिङमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको छ ।