अनलाइन दर्ता र नवीकरणको जिम्मा सिडियोलाई ।
काठमाण्डौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण नगर्ने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको काम बन्द गरी अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट हुन जनाएको छ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ संशोधन गरेपछि विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम बन्द गरेको हो ।
साउन १४ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त संशोधन गरिएको ऐन राजपत्रमा प्रकाशित गरेको थियो । संशोधन ऐनको दफा ७ क. पछि ७ ख मा अनलाइन सञ्चारमाध्यम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुनेमा संशोधन पछि भने अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नको लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
प्राप्त निवेदन उपर स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने प्रावधान संशोधनपछि थप गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्