शुक्रबार रातभर प्रहरीको विशेष अपरेसन, चक्रे मिलनसहित ४७ जना पक्राउ ।

काठमाण्डौँ, प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ ।
चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।
गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाण्डौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले बताए । ‘अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदै छ, एआईजी तामाङले बताए ।
प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित् सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाण्डौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्