आज बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ।

काठमाण्डौँ, आज बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज (बिहीबार) दिउँसो १ बजेका लागि तय भएको छ ।
नेपाली काँग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।
संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले काँग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।
तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् । संविधानमा भएको व्यवस्था अनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क लामाको छ ।
प्रतिक्रिया दिनुहोस्