२०८२ श्रावण १७

आज प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति देउवाबिच वार्ता, वार्ता मन्त्री हेरफेरमा केन्द्रीत ।

काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग आज बैठक गर्नेभएका छन् ।
प्रधानमन्त्री ओलीले औसतभन्दा कमजोर कार्यसम्पादन, विवाद, सत्तासाझेदार सरोकार र गुटगत चलखेललाई मन्त्री हेरफेरको आधार बनाएका छन् । यसबीचमा तिनको सूची सहित काँग्रेससँग केही चरण कुराकानी गरिसकेका छन् । तर, आफ्नो दलको केन्द्रीय कार्यसमितिकै बैठकबाट ओली सरकारको पहिलो वर्षको समीक्षा गरेको काँग्रेसले अहिले पठाइएकै मन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेपछि उनी पछि हटेका थिए ।
यसै एजेन्डासहित आज बिहीबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उच्च सरकारी स्रोतका अनुसार, देउवासँग ओलीले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्दै सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्नेछन् ।
‘मन्त्री फेर्ने योजना नेपाली काँग्रेसको निर्णयसँग पनि सम्बन्धित छ, त्यसैले प्रधानमन्त्रीज्यूले आफैं फाइनल कुरा गर्दै हुनुहुन्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘आज नेपाली काँग्रेसका सभापति देउवासँग बैठक हुन्छ । काँग्रेसले नाम दियो भने ठिकै छ, दिएन भने पनि केही दिनभित्रै मन्त्रिपरिषद्मा आवश्यक हेरफेर हुन्छ ।’
मन्त्री फेर्नका लागि देउवासँग आज (बिहीबार) बैठक गर्न लागेका ओलीले चार कारणलाई हेरफेरका आधार बनाएका छन् ः औसतभन्दा कमजोर कार्यसम्पादन, विवादका शृंखला, सत्ता साझेदारका सरोकार, अनि आफ्नै दलभित्र पछिल्ला दिनमा देखिएको गुटगत चलखेल ।
कार्यक्षमतामा कमजोर देखिने मन्त्रीहरूमध्ये काँग्रेसका समेत भएको भन्दै तिनलाई बिदा गर्दा काँग्रेस स्वयंलाई समेत राम्रो हुने तर्क गरिरहेका छन् । देउवा आगामी पार्टी महाधिवेशन केन्द्रित समीकरणको सन्तुलनलाई ख्याल राख्दै सरकारी अवसरमा सानातिना सम्झौता गर्न खोजिरहेका छन्, जुन शैली ओलीलाई निको लागिरहेको छैन ।
‘मन्त्रिपरिषद् हेरफेर पक्का छ, अब कुर्दैनौं । कति मन्त्री फेरिन्छन् भन्ने कुरा काँग्रेससँगको आजको बैठकसँग निर्भर छ,’ प्रधानमन्त्री कार्यालयले भन्यो ।

उच्च स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत केही मन्त्री यथावत् राख्नेछन् । केही मन्त्रीहरूको मन्त्रालय अदलबदल हुनसक्ने सम्भावना पनि रहेको छ ।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यसम्पादनका बारेमा प्रधानमन्त्री ओली असन्तुष्ट देखिए पनि काँग्रेसभित्रको आन्तरिक गुट समीकरणका कारण उनी निर्णयमा पुग्न सकिरहेका छैनन् । यद्यपि देउवासँग उनले यसबारे प्रस्ताव भने लैजाने भएका छन् ।
सत्तचरुढ नेकपा एमाले हेरफेरको पूर्वतयारीका क्रममा रक्षामन्त्री मानवीर राईको कार्यकालमा पूर्ण विराम लाग्ने लगभग पकापक्की जस्तै छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई आफ्ना तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरतसिंह भण्डारी हटाउन लिखित पत्र नै दिइसकेका छन् । प्रधानमन्त्री ओलीले प्राप्त गरेको पत्रमा अब बन्ने मन्त्रीमा सर्वेन्द्रनाथ शुक्लको नामरहेको छ । लोसपा स्रोतले पनि आफ्नो तर्फबाट केही दिनअघि चिठी प्रधानमन्त्री कहाँ पठाइएकोे पुष्टि गरेको छ ।
पोखराको जग्गा विवाद अनि घुसकाण्डसँगै विवादमा आएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउन प्रधानमन्त्री ओलीलाई यही मन्त्रिपरिषद् हेरफेरको मौकामा सहज पर्नेछ । केही विवादसहित आन्तरिक प्रश्न झेलिरहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत फेरिनसक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
यसअघि घुसकाण्डमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ठाउँमा प्रधानमन्त्री ओलीले एमालेकै भगवती न्यौपानेलाई मन्त्री बनाइसकेका छन् ।
त्यसअघि शिक्षामन्त्रीमा विद्या भट्टराईको ठाउँमा प्रधानमन्त्रीले रघुजी पन्तलाई मन्त्री बनाइसकेका छन् । यद्यपि शिक्षा सुधारमा प्रयास गरिरहेकी भट्टराईलाई हटाउने उनको निर्णयको भने सार्वजनिक रूपमै आलोचना भएको थियो । ओलीले आफूले नियुक्त गरेका मन्त्रीसँग कार्यक्षमता प्रदर्शनको वाचा गराउँदै कार्यसम्पादन सम्झौता समेत गरिसकेका छन् ।