२०८२ कार्तिक २

मनाङको तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति ।

खाङसार, मनाङको तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ ।
समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको तिलिचा ताल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी विद्युत् आपूर्तिको व्यवस्था गरेको जनाएको छ ।
केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए । बिजुली पुगेपछि तिलिचो पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न, पानी तताउन सहज भएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।


बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युतको ग्राहक सख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् आपूर्ति हुँदै आएको थियो ।
बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन पनि राखिएको छ । विद्युतको प्रयोग गरी पानी उमाल्न थालिएको छ । जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ ।


बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नुपर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको विद्युत प्राधिकरणले जनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङ बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ ।