नेकपा एमालेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हट्यो ।
काठमाण्डौँ, नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन पाउने व्यवस्था उल्लेख थियो । सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले ‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको’ जानकारी दिएका छन्।
बेठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्तावमा कुनै फेरबदल गरेको छैन । एमालेको विधान अधिवेशन भदौ २० देखि २२ सम्म गोदावरीमा ह्ँदै छ ।
‘दसौँ राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न, विधान महाधिवेशनको प्रतिनिधि भनेको जो दसौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु हुुनुहुन्थ्यो, उहाँहरु मात्रै हुने विधानमै व्यवस्था भएको बैठकपछि ज्ञवालीले भने ।’
एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान अधिवेशनमा सहभागी हुनबाट रोक्न सचिवालय बैठकले यो निर्णय गरेको हो ।
सचिवालय बैठक मध्यरातसम्म चलेपछि एमालेको आज (शुक्रबार) आयोजना भएको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकले हालको वरिष्ठ उपाध्यक्ष हटाएको छ ।
अब अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्