नेपाली काँग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोध्न थाल्यो ।
काठमाण्डौँ, नेपाली काँग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टीविरुद्ध स्टाटस, कमेन्ट र लाइक गरेको भन्दै नेता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण सोध्न थालेको छ ।
अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्टाटस लेखेको आधारमा स्पष्ट पारिदिन पत्र लेखेका छन्। पाठकलाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।
त्यस्तै, २०८० वैशाखमा तनहुँमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा मत मागेको भन्दै काँग्रेस जिल्ला सदस्य झविन्द्र ज्ञवालीसँग स्पष्टीकरण सोधिएको छ । ज्ञवाली नवलपरासी जिल्ला समितिका सदस्य हुन् । रास्वपाका उपसभापति वाग्लेले लेखेका स्टाटसमा पार्टीहित विपरीत कमेन्ट गरिएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, समितिले लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेललाई बुधबार स्पष्टीकरण सोधेको छ । गत निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।


प्रतिक्रिया दिनुहोस्