आज साउन १ गते अर्थात् साउने संक्रान्ति ।
काठमाण्डौँ, आज साउन १ गते अर्थात साउने संक्रान्ति स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।
आजका दिन सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।
अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिन्छ ।
एक महिना काम गर्ने किसान आज साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
आज परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।


प्रतिक्रिया दिनुहोस्