२०८२ फाल्गुन १४

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो ।

काठमाण्डौँ, जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग जसपाका नेताहरुले भेटवार्ता गरेका थिए ।
त्यो भेटवार्तामा भूमि विधेयकका अन्तर्वस्तु, सत्ता सहकार्य लगायतबारे छलफल भएको थियो । तर जसपा नेपालले भूमि विधेयकका अन्तर्वस्तुमा आफ्नो अडान बदल्न चाहेको थिएन । ओली र देउवाले सम्वादबाट समस्या हल गर्नु सकिने बताएका थिए ।
तर अडानमा कायम रहँदै संसदीय दलको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको छ ।
जसपा नेपालले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संघीय सरकारसँग हाल रहेको सांसदको समर्थनको संख्यामा कमी आएको छ ।
३० असार २०८१ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले ६ साउन २०८१ मा प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए । त्यसबेला उनले २७५ सदस्यीय सभामा १८८ मत पाएका थिए । यो दुई तिहाइ बढी मत हो ।
ओलीको पक्षमा नेपाली काँग्रेस ८८, नेकपा एमाले ७७, जसपा ७, जनमत पार्टी ६, जसपा नेपाल ५, लोसपा ४, नाउपा ४, स्वतन्त्र एक गरी १९२ मत रहेको थियो । यसमध्ये १८८ जना त्यसबेला मतदान प्रक्रियामा सहभागी भएका थिए ।
प्रतिनिधि सभामा जसपा नेपालका ५ जना सांसद रहेका छन् । यदि जसपा नेपालले समर्थन फिर्ता लिएको खण्डमा सरकारसँग रहने दलको सांसद संख्यामा ५ ले कमी आउनेछ ।
राष्ट्रिय सभामा भने जसपा नेपालको समर्थन नपाउँदा सरकारलाई आफ्नो विजनेश अगाडि बढाउन समस्या पर्न सक्छ । किनभने, सत्तापक्षको सांसद संख्या प्रतिपक्षको भन्दा कम हुन्छ ।