२०८२ फाल्गुन १४

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै ।

काठमाण्डौँ, आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । संघीय संसद्को प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउन कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी, आजै राष्ट्रियसभाको बैठक १ः१५ मिनेटमा बस्दैछ । राष्ट्रियसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छ ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।