२०८२ असार १८

चितवन राष्ट्रिय निकुञ्जमा सोमबारदेखि जिप सफारी बन्द।

चितवन, चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ ।
निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले सोमबारदेखि जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यति बेला ठुलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ ।
मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको वासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो ।
मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौ वटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दै आएका छन् ।