सबै स्थानीय तहमा द्रुत इन्टरनेट ‘एफटिटिएच’ पुर्याइने छ : प्रबन्धनिर्देशक सङ्गीता पहाडी

काठमाण्डौँ, नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पु¥याउने भएको छ ।
टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधि सहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिइन । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पु¥याउने गरी योजना बनाएका छौँ,” उनले भनिन् ।
फिक्स्ड प्रविधिमा आधारित टेलिकमको एफटिटिएच अहिले ७७ जिल्लाका तीन सय वटा स्थानीय तहमा विस्तार भइसकेको छ । प्रायः धेरै स्थानीय तहमा अनलाइनमा आधारित सेवा उपलब्ध रहेकाले बाँकीमा पनि सो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट पुर्याउने योजनामा काम हुने प्रबन्ध निर्देशक अर्यालले बताइन ।
टेलिकमले उपलब्ध गराउने एफटिटिएचमा इन्टरनेट, टेलिभिजन र टेलिफोन सुविधासमेत उपलब्ध छ । अहिले ७७ जिल्लामध्ये छ वटा जिल्लामा टेलिभिजन सुविधा भने उपलब्ध छैन । ती जिल्लामा माइक्रोवेभमार्फत कनेक्सन पु¥याइएकाले उच्च गतिको इन्टरनेट नपुग्ने भएकाले टेलिभिजन सेवा दिन नसकिएको अर्यालले बताइन । उनले भनिन्, “अब भने ती जिल्लामा पनि माइक्रोवेभलाई फाइबरबाटै विस्थापित गर्ने र त्यहाँ पनि टेलिभिजन सेवा पुर्याउने लक्ष्य छ ।”
चार वर्षका लागि टेलिकमको नेतृत्वमा पुगेका प्रबन्ध निर्देशक अर्यालले टेलिकमले नयाँ प्रविधि भित्र्याउने, फाइभजी सेवा सुरु गर्ने, अन्तर्राष्ट्रियस्तरमा लागु भएका मार्केटिङ अभ्यास अवलम्बन गर्नेलगायतका कार्य गर्ने योजना रहेको बताइन । डेटा सेन्टर सञ्चालनमा ल्याउने, सेवाको गुणस्तर बढाउने, फोरजी सेवालाई थप विस्तार गर्ने योजना पनि रहेको उनले बताइन ।
काठमाण्डौँ उपत्यकाबाहिर टेलिकम टावरको सख्या थपेर सेवाको गुणस्तर बढाउने टेलिकमको योजना छ । त्यस्तै हाल सञ्चालनमा रहेका टावरलाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणसँग पनि सहकार्य गर्ने योजना रहेको अर्यालले जानकारी दिइन ।
सरकारले अनलाइन शिक्षा प्रवर्धन गरिरहेकाले शिक्षासम्बन्धी प्याकेज ल्याउने, स्थानीय तहले सुरक्षाका लागि प्रयोग गरिरहेको सिसिटिभीमा कम्पनीको नेटवर्क प्रयोग बढाउने जस्ता योजना पनि रहेको उनले जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस्